३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


मुकेश अम्बानीले तिरिदिए भाइ अनिलको ८ अर्ब ऋण, यसरी डुबे अनिल


0
Shares

काठमाडौं, चैत ५ । भारतका अर्बपति व्यापारी मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ८ अर्ब ऋण तिरिदिएका छन् ।

दाइले ऋण तिर्देकै कारण अनिल अन्तिम समयमा जेल जानबाट जोगिएका हुन् ।

स्वीडेनको एरिक्सन कम्पनीलाई बुधबारसम्म  ७.७ मिलियन डलर अर्थात् करिब ८ अर्ब ४० करोड नेपाली रुपैयाँ तिर्नुपर्ने थियो ।

मुकेशले उक्त रकम नतिरेका भए अर्बपति अनिलले तीन महिना जेलको चिसो कोठामा बिताउनुपर्ने थियो ।

विगतमा भएका सबै तिक्तता बिर्संदै अन्तिम समयमा दाइले भाइको उद्धार गरिदिएकाले सर्वोच्च अदालतको आदेशअनुरुप अनिल जेल जानबाट जोगिएका हुन् ।

मुकेशले समयसीमा सकिनु एक दिनअघि अनिलको ऋण तिरिदिएपछि  विज्ञप्ति जारी गर्दै अनिलले अफ्ठ्यारो पर्दा साथ दिएको भन्दै दाइ र भाउजु नीतालाई धन्यवाद दिएका छन् ।

विगतको तिक्तता बिर्सेर आफ्नो परिवार नयाँ ढंगले अघि बढिरहेको पनि अनिलले उल्लेख गरेका छन् ।

बुवा धीरूभाइ अम्बानीको मृत्युपछि दुई भाइले सम्पत्ति र व्यापारको ठूलो साम्राज्य नै प्राप्त गरेका थिए ।

तर, सन् २००२ मा बाबुको मृत्युपछि बिरासतमा पाएको उक्त सम्पत्ति र व्यपारकाबारेमा दुई भाइकाबीचमा ठूलो विवाद भयो ।

दुई दाजुभाइ सार्वजनिकरूपमै झगडामा उत्रिएपछि आमाको रोहवरमा सम्पत्तिको बाँडफाँट गरिएको थियो ।

जसमा भागबन्डाकाक्रममा अनिलले टेलिकम र ऊर्जा क्षेत्र तथा मुकेशले तेल र पेट्रोकेमिकलको व्यापार जिम्मा लिएका थिए ।

तर, पछिल्लो समय एकपछि अर्को गर्दै अनिलको व्यापार खस्कँदै गएको छ भने मुकेशले आफ्नो व्यापारको साम्राज्यमात्र फैलाएका छैनन्, उनी विश्वकै धनी व्यक्तिमा दरिएका छन् ।

मुकेशले गत वर्षमात्र १० अर्ब डलर सम्पत्ति थप्दा भाइ अनिल भने आफ्नो कम्पनीमा लागेको ऋण तिर्न नसकेर जेल जानुपर्ने अवस्था आएको थियो ।

‘फाइनान्सियल टाइम्स’काअनुसार अहिलेपनि मुकेशसँग ४२ अर्ब डलरको सम्पत्ति छ ।

अनिल पनि सन् २००८ सम्म त विश्वको आठौं नम्बरका धनी थिए । तर, व्यापारमा ‘चुक्ली’ खुस्किएपछि उनी ओरालो लाग्दै गए र जेलसम्म जानुपर्ने अवस्था आयो ।

अंशबन्डाका समयमा एकार्काको व्यापारमा संलग्न नहुने अवधि सकिएलगत्तै दाइ मुकेशले टेलिकममा लगानी गर्दै ‘जियो’ ल्याएपछि अनिलको ‘रिलायन्स’ ओरालो लाग्न थालेको पनि बताइन्छ ।

अनिलले ४३ अर्ब डलरभन्दा बढी रकम व्यापारमा गुमाएको बताइएको छ । (एजेन्सी)