३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


इन्डोनेसियाको पपुवामा भीषण बाढी, कम्तीमा ७३ जनाको मृत्यु


0
Shares

काठमाडौं, चैत ४ । इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको भीषण बाढीमा परेर कम्तीमा ७३ जनाको मृत्यु भएको छ । ६० जना बेपत्ता छन् । दर्जनौं घाइते भएका छन् ।

बाढीप्रभावितहरुलाई उद्धार गर्न ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

विकट क्षेत्रका गाउँसमेत बाढीप्रभावित भएकाले उद्धारकर्मीहरुलाई समस्या भएको छ । विकट क्षेत्रको तथ्यांक आइनसकेकाले मृतकको संख्या अझै बढ्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

बाढीका कारण सडकहरु अवरुद्ध भएका छन् । कयौं घर डुबानमा परेका छन् ।

सरकारी अधिकारीहरुले बाढीका कारण कम्तीमा चार हजार मानिस विस्थापित भएका जनाएका छन् । कतिपयलाई सरकारी भवनमा आश्रय दिएर राखिएको छ ।

पक्की पुलसमेत बगाएको र ठाउँ–ठाउँमा बिजुलीका पोल र रुख ढलेकाले यातायात सेवासमेत अवरुद्ध बनेको छ ।

इन्डोनेसियामा गत अक्टोबरदेखि अप्रिलसम्ममा पाँचपटक बाढी आइसकेको छ ।

भारी वर्षा जारी रहेका कारण बाढी अझै केही दिन आउनसक्ने अनुमान गरिएको छ ।

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण इन्डोनेसियामा बाढी आएको हो । (एजेन्सी)