काठमाडौं, चैत ३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले एक वर्षको अवधिमा आफ्नो मन्त्रालयले उल्लेख्य काम गरेको बताएका छन् ।
यस अवधिमा ८९ ओटा आयोजनाहरुको १,७३४ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भएको उनले बताए ।
यस अवधिमा विद्युत् चुहावट गत वर्षको २०.४५ प्रतिशतबाट १९ प्रतिशतमा झारिएको पनि उनले बताए ।
सफलता मापन गर्ने समय अझै नआइसकेको भएपनि मन्त्रालयले जारी गरेको श्वेतपत्रले लिएको मार्गचित्रको आधार भने बनिसकेको उनको भनाइ छ ।
एक वर्षको अवधिमा कानुनी तथा नीतिगत सुधार, संस्थागत पुनःसंरचनामा सफलता प्राप्त गरेको उनले बताए ।
एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पुनले राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ कार्यान्वयनमा आएको, प्रसारणलाइन विकास गुरुयोजना २०४० तयार गरिएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको श्वेतपत्रमा उल्लिखित ऊर्जा मिश्रणलाई आधार मान्दै ‘रन अफ रिभर’ जलविद्युत् आयोजनाको हकमा ५,२५० मेगावाटसम्म, ‘स्टोरेज/पम्पड स्टोरेज’ जलविद्युत् आयोजनाको हकमा ५,२५० मेगावाटसम्म र ‘पिकिङ रन अफ रिभर’ लविद्युत् आयोजनाको हकमा ४,५०० मेगावाट क्षमतासम्म ‘टेक एन्ड पे’ प्रावधानको सट्टा ‘टेक अर पे’ प्रावधानअनुरुप निजी क्षेत्रका जलविद्युत् आयोजनाको लागि विद्युत् खरिद–बिक्री सम्झौता गरिएको उनले बताए ।
भारत, बंगलादेश, चीनसँग ऊर्जामा लगानी एवं प्रवर्द्धनबारे द्धिपक्षीय एवं बहुपक्षीय सम्झौता भएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्