
-पहलमान घर्ती, ईमेज
रोल्पामा प्रशस्त मात्रामा विभिन्न प्रजातिका फूल पाइने भएकाले किसानले माहुरीपालनबाट मह उत्पादन गरी आम्दानीसमेत गरिरहेका छन् ।
रोल्पाका किसानले मौरी पालन गरी आम्दानी गर्न थालेका छन् । विकट ठाउँ भए पनि धेरै प्रजातिका फूल पाइने र ती फूलको रसमा मौरी भुलिने गरेका कारण यहाँ मौरी पालन हुन थालेको हो ।
रोल्पाका स्थानीय मात्र होइन, बाहिरी जिल्लाका मौरीपालक किसानले पनि यहाँ मौरी चराउन लैजाने गरेका छन् ।
सर्लाही हरीपुरका मौरीपालक कृषक रबीकुमार कडरियाले १ सय ५० घार मौरी चराउनकै लागि रोल्पा पुर्याएको बताए ।
उनले त्यहीँ महसमेत उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादित मह काठमाडौंसम्म पुर्याएर बिक्री गर्ने गरिन्छ ।
कडरियाले रोल्पामै मौरी चराएर २ महिनामा ५ सय केजी मह उत्पादन गरी २ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
रोल्पामा गत वर्ष १० मेट्रिक टन मह उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । भावाङ, जेदवाङ, जिनावाङ, खुंग्रीलगायतका गाविस मह उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।
यहाँ भिर, खग्रो, किटौरी र घर मौरी पाइन्छन् । जिल्लामा पुरानै शैलीका मुढे घारमा मौरी पाल्ने चलन छ ।
गाउँगाउँका किसानले मौरी पालन गरिरहे पनि कृषि विकास कार्यालयले भने यसबारेमा कुनै अनुसन्धान गरेको छैन ।
कार्यालयका बाली संरक्षण अधिकृत भगवतीप्रसाद कुँवरले मौरीको चरनका बारेमासमेत कुनै अनुसन्धान नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्