काठमाडौं, चैत २ । आसन्न लगानी सम्मेलनको तयारीप्रति अर्थविद्हरुले सन्तोष व्यक्त गरेका छन् ।
तर, कार्यान्वयन पक्ष जहिलेपनि जटिल रहने भन्दै त्यसतर्फ बढी ध्यान दिन सचेत गराएका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा अर्थविद् डा. शंकर शर्माले देशमा विदेशी लगानीको वातावरण राम्रो नभएको बताए ।
लगानी सम्मेलनले नेपालमा लगानीको वातावरणबारे लगानीकर्तालाई थाहा हुने भएकाले सरकारले गरेको तयारीअनुरुप काम गरे लगानी भित्रने विश्वासपनि उनले व्यक्त गरे ।
पूर्वअर्थसचिव युवराज भुसालले पहिलो लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार लगानी नआएकोतर्फ समीक्षा आवश्यक रहेको बताए ।
उनले सरकारले खर्च गर्ने क्षमता बढाउनुपर्ने भन्दै पूर्वाधार, नीतिगत सुधार, कानुनी संरचना र प्रक्रियामा सुधार आवश्यक रहेको बताए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लगानी सम्मेलनकाक्रममा केही लगानीकर्ताले केही परियोजनामा सम्झौता गर्ने तयारी भइरहेको बताए ।
विगतको अनुभवले कार्यान्वयन पक्ष जटिल देखिएपनि त्यसमा सुधार गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।
सम्मेलनले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको र नीतिगत सुधारबारे विदेशी लगानीकर्तालाई आश्वस्त पार्न सफल हुने विश्वास सरकारले गरेको उनले बताए ।
लगानी सम्मेलन यही चैत १५ र १६ गते काठमाडौंमा हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्