Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


रोल्पामा १० नयाँ झोलुङ्गेपुल निर्माण सुरु


0
Shares

यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र ओत–८ जोड्ने गोठीखोला, ओत–५ र तालाबाङ–१ जोड्ने हलङसेरा, सीर्प–७ स्थित सुर्खे खोलामा सुर्केखोला, तालाबाङ–८ र भाबाङ–६ जोड्ने माडीखोलास्थित पीपलबोट ट्रस तथा धबाङ–६ र धबाङ–९ जोड्ने धबाङ ट्रस पुलको नयाँ निर्माण कार्य थालिएको हो ।

यी पुल झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) अन्तर्गत जिल्ला विकास समितिमार्फत सहयोगी संस्था विकास सरोकार समाज (डिकोस) रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाका सव इन्जिनियर करुणप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार यी सम्पूर्ण पुलको निर्माण कार्य सम्पन्न गर्नका लागि रु एक करोड ८० लाख, ७० हजार विनियोजन गरिएको छ ।

यसरी पुल निर्माण कार्य सम्पन्न गर्नका लागि स्वापबाट प्राप्त अनुदानअन्तर्गत ९२ प्रतिशत, जिविसको म्याचिङ फण्डबाट चार प्रतिशत, गाविसको म्याचिङ फण्डबाट दुई प्रतिशत र जनश्रमदानबाट दुई प्रतिशत सहयोग हुने सामुदायिक झोलुङ्गे पुल सहयोग कार्यक्रमका असिस्टेन्ट सब इन्जिनियर तिलकराम केसीेले जानकारी दिए ।

डिकोस रोल्पाका प्राविधिक वसन्त केसीका अनुसार निर्धारित समयमा दशवटै झोलुङ्गे पुल निर्माण हुनसके एक हजार ५०० घरधुरीका करिब ११ हजार जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

उपभोक्ता समिति र जिविस रोल्पाबीच आगामी असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भनी सम्झौता भएको भए पनि निर्माण कम्पनीले समयमै सामग्री उपलब्ध गराउन नसक्दा हालसम्म पनि पीपलबोट ट्रसको काम अगाडि बढ्न सकिरहेको छैन ।

यसैगरी, धबाङ ट्रसको काम पनि निर्माण स्थलमा पहिरो गएका कारण अगाडि बढ्न सकिरहेको छैन । यस्तै, ब्रह्मथानमा निर्माण स्थलमा स्थानीयवासीका बीचमा विवाद हुँदा काम अगाडि बढ्न सकिरहेको छैन ।

साथै, गाउँका युवाजति सबै वैदेशिक रोजगारीमा हिँड्न थालेपछि जनशक्तिको अभाव खड्किन थालेको सब इन्जिनियर श्रेष्ठको भनाइ छ । हालसम्म जिल्लामा यी १० वटा नयाँ र अन्य पुराना १६५ वटा गरी अब १७५ वटा झोलुङ्गे पुल सञ्चालनमा रहने छन् । (रासस)

Skip This