२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक, सोमालिया विश्वकै पहिलो


0
Shares

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ ले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक भएको देखाएको हो ।

ट्रान्सपरेन्सीको सूचकांकमा नेपाल २९ अंक पाएर १ सय ३१औं स्थानमा रहेको हो ।

विश्वका १ सय ७६ देशमा सर्वेक्षण गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । गत वर्ष १ सय ६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३०औं स्थानमा थियो ।

ट्रान्सपरेन्सीले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रीहरि अर्यालले अघिल्लो वर्षभन्दा यस वर्ष नेपालमा भ्रष्टाचार कम भएको हो कि भन्ने देखिएपनि अध्ययनले नेपालमा नीतिगत भ्रष्टाचार भने झनै बढेर गएको बताए ।

दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ । त्यसैगरी, दोस्रोमा बंगलादेश रहेको सर्वेक्षणले देखाएको छ ।

विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्यान्ड छन् भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको सर्वेक्षणले देखाएको छ ।

भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले यो वर्ष ५० भन्दा कम अंक पाएका छन् ।

दक्षिण एसियाली देशमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७औं स्थानमा छ ।

भारत ४० अंकसहित ७९औं, माल्दिभ्स र श्रीलंका ९५औं स्थानमा छन् । पाकिस्तान नेपालभन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान १ सय १६औं स्थानमा छ ।