२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कुवेतमा एकैपटक ७ जनालाई झुन्ड्याएर मृत्युदन्ड दिइयो


0
Shares

मृत्युदन्डको सजाय पाउने सातजना अपराधीमध्ये राजपरिवारका एकजना सदस्य पनि परेका छन् ।

केहीअघि विभिन्न समयमा ती अपराधीहरुले ४० जनाभन्दा बढी मानिसहरुका ज्यान लिएका थिए ।

सजाय पाउने सबै अपराधीलाई बुधबार एकमुष्ट झुन्ड्याएर मारिएको छ । तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलोपटक यसरी मृत्युदन्डको सजाय कार्यान्वयन गरिएको हो ।

मृत्युदन्डको सजाय पाउने सातजना अपराधीमा एकजना बंगलादेशी, एकजना फिलिपिन्सको, एकजना इथियोपियाली, दुईजना इजिप्टेली र दुईजना कुवेतकै नागरिकसमेत रहेका सरकारी स्वामित्वको ‘कुना’ समाचार समितिद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

मृत्युदन्डको सजाय पाउने कुवेतकै नागरिकहरुमा राजपरिवारको एकजना सदस्यको नाम फैजल अब्दुल्लाह अल जबर अल सबाह भन्ने खुलासा गरिएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार आम नरहत्यालाई प्रत्यक्षरुपले सघाएको र अवैध बन्दुकलगायतका हातहतियार गैरकानुनीरुपमा आफ्नो स्वामित्वमा राखेको आरोप उनलाई लागेको थियो ।

त्यस्तै, कुवेतकै नागरिक अर्की महिला नासरा अल एनेजीलाई पनि प्रत्यक्षरुपले आम नरहत्या गरेको आरोपमा सन् २०१० मै मृत्युदन्डको सजाय सुनाइएको थियो ।

सन् २००९ मा आफ्ना पतिले दोस्रो विवाह गरेकोमा आबेगमा आइ नासराले प्रीतिभोज मनाउन सजाइएको पालभित्र आगो सल्काइदिएकी थिइन् ।

भयंकर आगोको लप्कामा परी अतिथि, महिला तथा बालबालिकासमेत ४० जनाभन्दा बढी सोही पालभित्रै जलेर मरेका थिए ।

मृत्युदन्डको सजाय पाउने एकजना फिलिपिनी महिलाको नाम जाकातिया पावा भएको फिलिपिन्सका विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् ।

पावालाई घरेलु कामदार भइ आफू नोकरी गरेर बसेको घर मालिकको छोरीको हत्या गरेको आरोप लागेको थियो ।

जाकातिया पावाको दाजु ग्यारी पावा फिलिपिन्सको वायुसेनाका लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत् छन् ।

उनले जाकातियालाई आममाफी दिलाउने सम्बन्धमा पहल गरिदिन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसम्म कुरा पुर्‍याए ।

फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले पनि जाकातियालाई मृत्युदन्डको सजायबाट माफी दिलाउन याचना गर्दै कूटनीतिकस्तरबाट सक्दो प्रयास गर्‍यो ।

तर, कुवेती सरकार तथा अदालतले आफ्नो फैसला र देशको कानुन कार्यान्वयन गर्ने सम्बन्धमा कुनै सम्झौता गर्न नमानेको कुरा फिलिपिन्सको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अर्नेस्टो एबेल्लाले बताए । रासस/एपी