
काठमाडौं, फागुन २७ । इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा परेपछि विभिन्न वायुसेवा कम्पनीहरूले ‘बोइङ ७३७ म्याक्स ८’ जेटको उडान रोकेका छन् ।
आइतबारमात्र आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जनाको मृत्यु भएको थियो ।
पाँच महिनाभित्र बोइङ ७३७ म्याक्स ८ मोडेलको विमान दुर्घटनामा परेको यो दोस्रोपटक हो ।
चीन र इन्डोनेसियाका उड्डयन नियमक निकायहरुले आफ्ना वायुसेवा कम्पनीहरूलाई सो मोडेलका विमानहरूको उडान स्थगित गरेका छन् । चीनमा सो मोडेलका ९० ओटा विमान सन्चालनमा छन् ।
इथियोपियन एअरलाइन्स तथा केमन एअरवेजले पनि ७३७ म्याक्स ८ विमानहरू उडानबाट हटाएका छन् ।
विज्ञहरुले भने इथियोपियामा विमान दुर्घटना हुनुको कारण अहिले नै भन्न छिटो हुने बताएका छन् ।
केही महिनाअघि इन्डोनेसियमा पनि सोही मोडलको विमान दुर्घटनामा परेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्