-अनिल तिवारी, नवीन सिंह र शिवहरि भट्टराई(ईमेज)
वीरगन्ज । स्वतन्त्र मधेसको माग गर्दै पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतले राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समाहित हुने उद्घोष गरेसँगै मुलुकको राजनीति तरंगित बनेको छ ।
खासगरी सरकार र राउतबीच भएको ११ बुँदे सम्झौतापत्रलाई राउत स्वयंले आफूअनुकूल व्याख्या गर्दा भने आम नागरिक अन्योलमा परेका छन् ।
मधेशलाई स्वतन्त्र देश बनाउनुपर्छ भन्दै विगत ८ वर्षदेखि आन्दोलन गरिरहेका सिके राउतले शुक्रबार संविधानलाई आत्मसात गर्दै राजनीति अगाडि बढाउने अप्रत्यासित घोषणा गरे ।
जेलमै रहेको बेला सरकारसँग विभिन्न चरणमा भएको वार्तापछि राउत विगतको एजेन्डालाई परित्याग गर्दै नयाँ राजनीतिक यात्रामा आउन सहमत भएका हुन् ।
राज्यद्रोहको कसुरमा मुद्दा खेप्दै र पक्राउ पर्दै आएका राउतकोे राजनीतिक यात्रामा देखिएको युटर्नलाई एकथरीले रहस्यमयी र राष्ट्रघातीको रुपमा अथ्र्याएका छन् भने अर्कोथरीले निकै सकारात्मक र सराहनीय भनेका छन् । यद्यपि सम्झौतापत्रको भाषामा देखिएको विवादलाई भने स्पष्ट पार्नुपर्नेमा धेरैको सुझाव छ ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले रावतको अवतरण ठूलो उपलब्धिपूर्ण भएको र विवादित भाषालाई भने सच्याउनुपर्ने धारणा राखे ।
त्यस्तै जनकपुरका राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र लाभ पनि सिके रावत राष्ट्रिय राजनीतिको मूल धारमा आउनु देश र राष्ट्रको लागि निकै सुखद् रहेको टिप्पणी गरे ।
अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोरले भने सरकारले राउतलाई थम्थम्याएर समस्या समाधान भएको ठान्नुभन्दा मधेशको मूल समस्यालार्ई उपचार गर्नुपर्ने तर्क राखे ।
अर्कातिर सम्झौता गरेका राउत स्वयंले स्वतन्त्र मधेश बनाउने मागलाई सरकारले सम्बोधन गरेको भन्दै आफूहरुको जित भएको टिप्पणी गरिरहेका छन् ।
पृथकतावादी गतिविधि त्यागेको घोषणा गरेका राउतलाई जनकपुर विमानस्थलमा ‘स्वतन्त्र मधेस’को झण्डा बोकेका कार्यकर्ताले स्वागत गर्नुले सम्झौतामाथि धोका भएको प्रस्ट हुन्छ ।
सम्झौतापछि सरकारले भने स्वतन्त्र मधेशको मुद्दा अब सधैँका लािग अन्त्य भएको घोषणा गरेको थियो ।
साथै राउतले सम्झौताको गलत अर्थ लगाए सम्झौता उल्लंघन मात्र नभई गठबन्धनको अवस्था पूर्ववत् अवस्थामा पुग्ने सरकारले चेतावनी दिइसकेको छ ।
सम्झौतामा भएको भाषाप्रति सत्तारुढ दलकै कतिपय नेताले आपत्ति जनाइसकेकाले त्यस्तो विरोधाभाषपूर्ण भाषालाई सरकारले सच्याउन आवश्यक छ ।
“









प्रतिक्रिया दिनुहोस्