१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सराङडाँडा बालमैत्री गाविस घोषणा, यस्तो देखियो रौनक (भिडियो)


0
Shares

-जितेन्द्र भण्डारी, ईमेज

सराङडाँडालाई बालमैत्री गाविस घोषणा गर्न आयोजित कार्यक्रममा गाउँका बालबालिका हातहातमा फूलको माला तथा बालअधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्ले कार्डसहित पाहुनाको टोलीलाई स्वागत गर्न तयार भएर बसेका थिए ।

बालमैत्री घोषित भएपछि अब गाविसले बालबालिकाका चाहना र आवश्यकतालाईसमेत ध्यानमा राखेर बजेट तथा कार्यक्रम ल्याउने छ ।

आर्थिक वर्ष २०६९/७० बाट युद्धस्तरमै काम गरेर ३ वर्षभित्रै बालमैत्री गाविस घोषणा गर्न सफल भएको गाउँ विकास समितिको कार्यालय सराङडाँडाले जनाएको छ ।

गाविस सचिव किशोरचन्द्र आचार्यले सम्पूर्ण मापदण्ड पूरा गरेरै बालमैत्री गाविस घोषणा गरिएको बताए ।

गाविसलाई बालमैत्री घोषणा गर्न जिविस, युनिसेफ, बहुक्षेत्रिय पोषण कार्यक्रम, सुहारा, सुनौलो हजार दिन सञ्चार अभियान तथा विषयगत कार्यालयहरुले समेत सहयोग गरेका छन् ।

त्यसैगरी गाविसका सबै राजनीतिक दल, स्वास्थ्य व्यवस्थापन समिति, फुङसिङ बहुउद्देश्यीय महिला सहकारी संस्था, बाल क्लब सञ्जाल, निगरानी समूह, विद्यालयलगायत सबैको साथ र सहयोग मिलेको सराङडाँडा बाल क्लब सञ्जालकी अध्यक्ष नविना सम्हाम्फेले बताइन् ।

बालमैत्री गाविस घोषणा हुनुअघि बालबालिकाका आवाज सुनवाई नहुने गरेको गुनासो आउने गरेको थियो । तर अब कुनै पनि कार्यक्रम बनाउन बालबालिकाका इच्छा, चाहना र आवश्यकताको पनि सुनुवाई हुने भएको छ ।

स्थानीय विकास अधिकारी कमलप्रसाद धमलाले बालमैत्री गाविस घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिगो बनाउन सक्नुपर्ने बताए ।

बालमैत्री गाविस घोषणालाई दीगो बनाउन सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक शिक्षिका, आमा समूहहरु सक्रिय भएर लाग्ने फुङसिङ बहुउद्देश्य महिला सहकारी संस्थाकी अध्यक्ष गंगा आङदेम्बेले प्रतिबद्धता व्यक्त गरिन् ।