Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


पशुपतिनाथ मन्दिरमुनि ‘खाल्डो’


0
Shares

माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने–जाने बाटो बनाएको पाइएको छ । इन्जिनियरिङ जियोलोजिस्ट रञ्जनकुमार दाहालले मन्दिरमा प्रयोग हुने पानी ब्रह्मनाल भएर बागमती नदीमा जाने क्रममा ठाउँठाउँबाट चुहिँदै जाने गरेको जानकारी दिए ।

पाशुपत क्षेत्रको बृहत् गुरुयोजना बनाउन पशुपति क्षेत्र विकास कोषले विभिन्न विषय/क्षेत्रको कार्यपत्र पेस र छलफल गराउने क्रममा सोमबार दाहालले भने, ‘केहीपटक मैले त्यहाँ पुगेर हेरेको छु । तस्बिर खिच्न नमिलेर मात्र हो । नत्र प्रमाण देखाउन सक्छु । त्यसरी चुहिएर जाने पानीले माटो गलाएको कसैलाई थाहा नहुन सक्छ । बलौटे माटो पनि भएकाले क्रमशः थोरै मात्रामा बगे (क्रिप) पनि आसपासमा पर्खाल भएकाले ठूलो असर नदेखिएको हो ।’

कोष कर्मचारीका अनुसार ढुंगाको डुँडजस्तो आकारबाट मन्दिरको पानी ब्रह्मनाल हुँदै नदीमा जाने गरेको छ । दाहालले बागमती नदीपूर्वको आरती गर्ने भाग श्लेषमान्तक वनको भागदेखिकै माटो गलेर रहेकाले समस्या आउन सक्ने पनि बताए । पाशुपत क्षेत्रको गहिरो अध्ययन गरेका आर्किटेक्ट सुदर्शनराज तिवारीले ब्रह्मनालको पानी बीचैबाट माटोमा पर्ने गरेकाले माटो गल्ने र बालुवासमेत भएकाले बगाउने गरेको बताए । उनले सोमबार भने, ‘खासगरी वासुकीनाथ मन्दिरदेखि पूर्वी ढोका हुँदै जाने भाग बढी धसिने सम्भावना छ । पानी जाने ढुंगाको डुँडका लागि अड्याउन राखिएका काठका थाम कुहिसकेका छन् ।’

उनका अनुसार गर्भगृह र पानीको निकासा देव राजाभन्दा अघि जय बर्माको समयमै बनाइएको थियो । उनले भने, ‘त्यो मात्र होइन, आर्यघाटमा रहेको शिवलिंगको ब्रह्मा , विष्णु र महेश्वरमध्ये माथिको भागले माटोको भुइँ बसेको र लिंग माथि उठेको छ तर कसैलाई थाहा नहुन सक्छ । यसलाई बेलैमा समाधान गर्नुपर्ने देखिन्छ ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट