
भारतीय प्रहरीको गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् ।
गोली लागी घाइते भएका उनलाई धनगढीस्थित अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । भारतीयको गोली लागेर अरु चारजना नेपालीहरु घाइतेसमेत भएका छन् ।
भारतीय सुरक्षाकर्मीसहित आएका भारतका सीमावर्तीका स्थानीयहरुले नेपालीहरुमाथि ढुंगा प्रहार गरेका थिए ।
पुनर्वासको दशगजा क्षेत्रमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतको सम्पूर्ण नगरका प्रहरी निरीक्षकले नेपालीहरुमाथि गोली प्रहार गरेको स्थानीयले आरोप लगाएका छन् ।
जंगेपिलरसमेत हराइसकेको सो क्षेत्रमा हालका लागि खोलामाथि कच्ची कल्भर्ट निर्माण गर्ने सहमति केही समयअघि नेपाली र भारतीय अधिकारीहरुबीच भएको थियो ।
सोही सहमतिअनुसार पुनर्वास नगरपालिकाले बुधबार (हिजो)देखि कल्भर्ट बनाउन थालेकोमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काएको थियो ।
कल्भर्ट भत्काएको विरोधमा विहीबार प्रदर्शन गर्न पुगेका नेपालीहरुमाथि भारतीय प्रहरीले गोली हानेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिंह कार्कीले बताए ।
बुधबार राती हतियारसहित नेपाल छिरेका एसएसबीका जवानहरुले स्थानीय नेपालीहरुलाई घर छाडेर जान धम्क्याएको पनि स्थानीयले बताएका छन् ।
उता, कन्चनपुर घटनाको विरोध गर्दै महेन्द्रनगरका स्थानीयले भारतीय नम्बर प्लेटका सवारी–साधनमाथि तोडफोड तथा आगजनी गर्दै हिँडेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्