Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


जाजरकोट बस दुर्घटनाः २६ जनाको मृत्यु, मृतक सबैको सनाखत, ३६ जना घाइते


0
Shares

मृतक सबैको सनाखत भएको छ । विहीबार दिउँसो सदरमुकाम खलंगाबाट साल्माको खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको बस भेरीमालिका–४ बोहरागाउँको मोडबाट करिब २०० मिटर तल पासागाड खोलामा खसेको थियो ।

घटनास्थलमै १३ जनाको र जिल्ला अस्पतालमा उपचारकाक्रममा थप १३ जनाको मृत्यु भएको डीएसपी भावेश रिमालले जानकारी दिए ।

जाजरकोट प्रहरीकाअनुसार दुर्घटनामा भेरीमालिका नगरपालिकाकामात्रै १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भेरीमालिका–१० का सन्तोष राना, भेरीमालिका–११ का गोपाल सुनार, भेरीमालिका–११ की शर्मिला सुनार, भेरीमालिका–४ का गणेश बोहरा, भेरीमालिका–४ कै नविन चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका– १२ का बहादुर भण्डारी, भेरीमालिका–१३ की हिउसरा गिरी, भेरीमालिका–११ का गोप्ली सुनार र भेरीमालिका–८ का चैते खत्री छन् ।

यसैगरी, दह–४ जाजरकोटका रामबहादुर बस्नेत, सिमा–९ का मदन पुन, दसेरा–१ का दिलबहादुर बुढा, दसेरा–२ का मनिराम जैसी, गर्खाकोट–४ का हरिबहादुर शाही, मजकोट–७ का दले तिरुवा, पजारु–८ का नैन दमाइँ, जुगाथापाचौर–५ का भरत बीसी, साल्मा–५ का नन्दलाल जैसी, आइते कामी र जिते कामीको पनि मृत्यु भएको छ ।

यस्तै, दुर्घटनामा चौरजहारी–४ रुकुमका कृष्ण गिरी र स्वीकोट, सल्यानका उदय बुढाको पनि जाजरकोट बस दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा ‘ब्रेकफेल’ भएर बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा अरु ३६ जना घाइते भएका छन् ।

अस्पतालमा शैय्या अभाव भएकाले अस्पताल परिसरमै राखेर घाइतेहरुको उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुमध्ये केहीलाई नेपालगन्ज र केहीलाई रुकुमको चौरजहारीस्थित मिसन अस्पताल पठाइएको छ ।