२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


यातायात सन्चालन गर्न सेना, प्रहरी


0
Shares

सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठक बसी यातायात सन्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो ।

बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङ्सारसम्म सडक पूरै अवरुद्ध भएको र अहिले चामेबाट सडक सफा गर्नेकाम सुरु भएको उनले बताए ।

सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको उल्लेख गर्दै सहायक प्रजिअ पन्तले सहज ठाउँमा सेना, प्रहरी एवं सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठ्यारो ठाउँको हिउँ फाल्न सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको जानकारी दिए ।

चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायतका ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको र अब यातायात सन्चालनकोनिम्ति सडक सफा गर्ने काम भइरहेको छ ।

मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको र अत्यधिक चिसोका कारण दुई दिनसम्म सन्चारका साधन तथा विद्युत् पनि अवरुद्ध भएको थियो ।

मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो । बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्तासमेत भएका थिए । रासस