
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एक हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, एक हजार ९ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँच सय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए ।
परीक्षा नियन्त्रक रेग्मीकाअनुसार चैत ३ गते अनिवार्य अंग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सन्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।
विगतका वर्षमा एसएलसी परीक्षाकारुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सन्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिमपटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सन्चालन गर्न दिइएको हो ।
परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्ला–जिल्लामा पुर्याइसकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए ।
उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरे ।
परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् ।
परीक्षा अनुगमनकानिम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ ओटा अनुगमन टोली खटाएको छ ।
त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् ।
परीक्षामा अमर्यादित काम गर्ने एवं गराउनेलाई कडा कारबाही गरिने जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्