
फाइल तस्वीर
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ वर्षपछि फर्किने खबर घरमा गरेको र उनी विदेशबाट विमान चढेर नेपाल आएको भनिए पनि हालसम्म उनको अत्तोपत्तो नभएको निजका बुबा रामवीर यादवले जनाए ।
घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ८ वर्षअघि खाडी मुलुक कतार गएका यादव अझै घर नफर्किएपछि घरपरिवारमा उनी आउने आशा मरेर गएको छ ।
विदेशबाट घर फर्किन लागेको खुसीमा छोरालाई ल्याउन काठमाडौँ विमानस्थल पुगेका उनका बुबा रामवीर खाली हात फर्किनुपरेको थियो ।
परिवारजनका अनुसार नरेशलाई विदेशमा रहेका साथीले विमानस्थलसम्म पु¥याएको तथा पछि उनको कुनै अत्तोपत्तो नभएको बताएका छन् ।
उनी चढेको फ्लाइट दिल्लीमा होल्ड गरी काठमाडौँमा अवतरण गरेको हुनुपर्ने यादवका साथीको कथन उद्धृत गर्दै रामवीर यादवले बताए ।
आठ वर्षदेखि सम्पर्कविहीन रहेका यादवलाई आफ्नै काकाको छोरा श्याम यादव (एजेन्ट) मार्फत विदेश पठाइएको थियो ।
गरिब एवम् विपन्न परिवारका यादवको तीन छोरी छन् । यादव सम्पर्कविहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ ।
साथै उनका बुबा रामवीर यादवले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस्