
भारतीय जनता पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले आदित्यनाथलाई मुख्य मन्त्री चयन गरेको हो । उनले आइतबार लखनउमा उत्तर प्रदेशका राज्यपालबाट सपथ लिने कार्यक्रम छ ।
योगीको सपथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी अध्यक्ष अमित शाहलगायत सहभागी हुने बताइएको छ । ४४ वर्षीय योगी गोरखपुर क्षेत्रबाट लोकसभा सदस्य निर्वाचित भएका हुन् ।
भारतीय जनता पार्टीले दिनेश शर्मा र केशवप्रसाद मौर्यलाई भने उप–मुख्यमन्त्रीमा छनोट गरेको छ ।
हालै सम्पन्न प्रदेश सभा निर्वाचनमा बीजेपी गठबन्धन उत्तर प्रदेशका ४ सय ३ सिटमध्ये ३ सय २५ सिटमा विजयी भएको थियो । विवादित अभिव्यक्तिका कारण पटकपटक चर्चामा आइरहने योगी आदित्यनाथ उत्तर प्रदेश विधानसभा चुनावका बेला सबैभन्दा बढी र्याली गर्ने नेतामध्येमा पर्छन् ।
गोरखपुरबाट सन् १९९८ मा पहिलो पटक सांसद बनेका उनी भारतीय संसद्मा सबैभन्दा कम उमेर २६ वर्षमा सांसद बनेर रेकर्ड राखेका थिए । उनी गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिरका मुख्य महन्तसमेत हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्