३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


ठेक्कापट्टाको विवादमा सबइन्जिनियरलाई कार्यालयमै कुटियो


0
Shares

चन्दननाथ नगरपालिका तलिउमका विष्णुबहादुर महत र खोेलीकाटका गगन बुढथापाले सबइन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले बताएका छन् ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय जुम्लाले १० ओटा टेन्डर आह्वान गरेकोमा ती टेन्डर आफूहरुसम्बद्ध कम्पनीको पक्षमा पार्नुपर्ने भन्दै उनीहरुले कार्यालय प्रमुख जगदीश लामिछानेसँग झगडा गरेको र सबइन्जिनियर चन्द्रबहादुर खड्कालाई हातपात गरेको प्रत्यक्षदर्शीले बताएका हुन् ।

मदिरा सेवन गरेका आक्रमणकारीहरुले टेन्डरका लागि परेका निवेदन पनि खोस्ने तथा च्यात्ने कोसिस गरेको कार्यालय प्रमुख जगदीश लामिछानेले बताए ।

आक्रमणपछि भागेका महत र बुढथापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णू काफ्लेले जानकारी दिएका छन् ।