
यससम्बन्धमा कांग्रेसले गरेको सुनुवाईका क्रममा निर्देशक कोमीले गत नोभेम्बर सम्पन्न राष्ट्रपति चुनावमा रुसी प्रभावबारे एफबीआईले अनुसन्धान गरिरहेको पहिलो पटक पुष्टि गरेका हुन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पूर्व राष्ट्रपति बाराक ओबामामाथि आफ्नो टेलिफोन ह्याक गरेको भन्ने आरोप लगाएकोबारे त्यस्तो आरोप पुष्टि हुने प्रमाण फेला नपारेको पनि कोमीले बताए ।
राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले आफ्नो टेलिफोन ह्याक गरेको आरोप लगाउँदै आएका छन् । तर उनले यसबारे कुनै प्रमाण भने दिएका छैनन् ।
निर्देशक कोमीले कांग्रेसको इन्टेलिजेन्स कमिटीलाई एफबीआईले गरिरहेको अनुसन्धानसम्बन्धी प्रमाण पनि दिएका छन् । ट्रम्प प्रशासनले राष्ट्रपति चुनावमा रुसले कुनै हस्तक्षेप नगरेको बताउँदै आएको छ ।
ट्रम्प र रुसबीच पनि कुनै सम्बन्ध नरहेको ह्वाइटहाउसको दाबी छ । रुसले पनि आरोप अस्वीकार गर्दै आएको छ । एफबीआईले ट्रम्पको चुनावी अभियानमा रहेका व्यक्ति र रुसी सरकारी अधिकारीबीचको व्यक्तिगत सम्बन्ध र त्यसको राष्ट्रपति चुनावमा रहेको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेको हो ।
यस्तै राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख माइक रोजर्सले पनि कांग्रेसको कमिटीमा गुप्तचर विभागको प्रतिवेदन पछ्याउने बताए । तर ह्वाइट हाउसका प्रवक्ता शान स्पाइसले भने अहिले भइरहेका अनुसन्धानले ट्रम्प प्रशासनलाई केही प्रभाव नपार्ने र यसमा चासो पनि नदिएको बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्