
निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार नवलपरासीको साविक कोल्हुवा गाविस–३ सेतेपानीका ४२ वर्षीय दुर्गा रानामगरलाई पक्राउ गरी शुक्रबार जेल चलान गरिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार रानामगरलाई दुई दिनअघि नवलपरासीको चोरमाराबाट पक्राउ गरिएको होे ।
वि.सं. २०६६ असोज २७ गते उनीमाथि गैंडा मारी खाग बिक्री गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
वि.सं. २०६९ जेठ १७ गते चितवन राष्ट्रिय निकुञ्जले रानामगरलाई १५ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला गरेको कँडेलले बताए ।
त्यसपछि स्वदेश र विदेशमा लुक्दैआएका उनलाई सुराकी सञ्जालका आधारमा पक्राउ गरिएको हो । सोही मुद्दाका अर्काे अभियुक्त कोल्हुवा–३ का खड्गनारायण महतो हाल पनि भरतपुर कारागारमै रहेका छन् ।
यो वर्ष गैंडासम्बन्धी अभियोगमा पक्राउ परेको यो पहिलो हो । निकुञ्जले दोषी ठहर्याइ गैंडा मारी खाग बिक्री–वितरण गरेको अभियोगमा अझै एक सय हाराहारी अभियुक्त फरार रहेको कँडेलले बताए ।
उनीहरुको खोजीकार्य जारी छ । झन्डै तीन वर्षयता दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको चोरी–सिकार भएको छैन ।
गैंडा मारिनेक्रम घटेपछि पुराना फरार अभियुक्तको खोजीमा निकुञ्ज सक्रिय भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्