
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दिएको सूचनाका आधारमा पर्सा प्रहरीले वीरगन्ज भन्सार परिसरको खुला स्थानबाट ‘बेवारिसे’ अवस्थामा दुइथान चितुवाको छाला र ३४ किलो हड्डी बरामद गरेको हो ।
भन्सार परिसरको यार्डमा दुइवटा थोत्रो टिनको बाकसभित्र राखिएको १६ वटा पोकामा रहेको हड्डी र छाला सोमबार (आज) बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए । बरामद चितुवाको छाला र हड्डी आवश्यक कार्बाहीका लागि सोमबार (आजै) जिल्ला वन कार्यालय पर्सामा बुझाइएको उपरीक्षक साहले बताए ।
वन्यजन्तुको चोरी सिकारी गर्नेले मकवानपुरको जंगलमा चितुवा मारेर त्यसको छाला र हड्डी भारत हुँदै तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा भन्सार परिसरमा राखेको हुनसक्ने आशंका रहेको पर्सा प्रहरीले जनाएको छ ।
काठमाडौंमा सिआइबीको टोलीले एक भारतीय नागरिकसहित तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरुले दिएको बयानका आधारमा वीरगन्ज भन्सार परिसरमा चितुवाको हड्डी र छाला रहेको सूचना पाएपछि सोही सूचनाका आधारमा छाला र हड्डी बरामद गरेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्