३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बिस्केट जात्रामा ढुंगा हान्ने ५ जना पक्राउ


0
Shares

पक्राउपर्नेमा भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय श्यामकृष्ण शाही, भनपा–२ च्यामासिंह बस्ने २६ वर्षीय अभिनव भन्ने रोशन प्रजापति, भनपा– १ बोलाछे बस्ने २२ वर्षीय सगुन प्रजापति र भनपा– ८ क्वाछे बस्ने १८ वर्षीय सञ्जीव फासीकौ रहेका छन् ।

त्यस्तै, ललितपुरको बडिखेल–७ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय विकेश पहरीलाई खुकुरीसहित पक्राउ गरेको महानगरीय प्रहरीपरिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

निजहरुले ढुंगा हान्ने, सिसी क्यामरा फुटाउने र हुलदंगा गर्ने कार्य गरेकाले राति नै पक्राउ गरी मंगलबार (आज) सार्वजनिक मुद्दा चलाएर आवश्यक कारवाही अगाडि बढाएको उनले बताए ।

राति ढुंगा हानाहान हुँदा पाँचजना प्रहरीसहित ११ जना घाइते भएका थिए । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन सोमबार तौमढीबाट भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ ।

जात्राको पहिलो दिनमै बिग्रियो रथ

नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन नै काठैकाठबाट प्यागोडा शैलीमा बनेको भैरवको रथ बिग्रिएको छ ।

विगतका वर्षमा पुरानो भएका काठको प्रयोग गरिएको, चुकुलको प्रयोग राम्रोसँग नगरेको र सामान्य रुपमा रथ बनाएका कारण यसवर्ष जात्राको सुरुकै दिन रथ बिग्रिएको जात्रा सञ्चालकले गुनासो गरेका छन् ।

गुठी संस्थानको रु पाँच लाखको लागतमा निर्माण भएको रथको चैत ३१ गते तानेर ल्यासिंखेल पु¥याएपछि लिंगो उठाउने र १ गते लिंगोे ढालेपछि रथलाई पुनःगःहिटी ल्याएर भद्रकालीको रथसँग जुधाउने परम्परा छ ।

त्यसपछि जात्राको अन्तिम दिन अर्थात् वैशाख ५ गते सुरुकै दिन जस्तै गरी रथलाई तान्ने परम्परा छ । गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले बिग्रिएको रथ तत्कालै मर्मत गर्ने बताए । रासस