काठमाडौं, फागुन ८ । गृहमन्त्री रामबहादुर थापाले शान्ति–सुरक्षा सुदृढ बनाउन सरकार सफल भएको दाबी गरेका छन् ।
बुधबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले ९५ प्रतिशत अपराधीलाई कानुनी कठघरामा ल्याएको र कतिपय घटनामा अझै सफल हुन नसकेपनि प्रयास जारी रहेको बताए ।
गृहमन्त्री थापाले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डको दोषीलाई कानुनी कठघरामा ल्याउन निरन्तर प्रयास भइरहेको दोहोर्याए ।
सो घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरीलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।
जवाफमा गृहमन्त्रीले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै आवश्यक देखिएमा फौजदारी मुद्दा चलाउने उल्लेख गरे ।
धादिङमा प्रहरीले समातेको ४ किलो सुन काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको गृहमन्त्रीको भनाइ छ ।
उनले सुन तस्करीमा संलग्न ‘ठूला माछा’ समातिनेक्रम चलिरहेको र बाहिर रहेकाहरू पनि छिट्टै जालमा पर्ने दाबी गरे ।
तस्करीको साढे ३३ किलो सुनसँग सम्बन्धित लगानीकर्ताहरू पक्राउ परिसकेको र उनीहरूको जालो तोडिएको गृहमन्त्री थापाको जिकिर छ ।
सरकारले ‘सिन्डिकेट’ अन्त्य गरेको भन्दै उनले फेरि फर्केर आउने सम्भावना नभएको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्