Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति अब चुप लागेर नबस्ने प्रधानमन्त्रीको चेतावनी


0
Shares

बिराज रोस्यारा

कैलाली, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालिरहेको भन्दै धेरै समय चुप लागेर नबस्ने बताएका छन् ।

क्रान्तिकारी कुरा गर्दै जलविद्युत् आयोजना बनाउन नदिने, आगजनी गर्ने, चन्दा आतंक फैलाउने काम देश डुबाउने खेल हो भन्दै प्रधानमन्त्री ओलीले यस्ता कुराप्रति सरकार चुप लागेर नबस्ने बताए ।

सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका हरेक क्षेत्रमा समावेशी विकास भएको दाबी गरे । समाजलाई सामाजिक न्यायको बाटोमा डोर्‍याउन सरकार तल्लिन रहेको भन्दै उनले केही भ्रम र कु–संस्कृतिको अन्त्य भइरहेको बताए ।

उनले लोकतन्त्रका नाममा मनपरी गर्ने छुट कसैलाई पनि नभएको बताए । मुलुकमा क्रान्तिका नाममा अशान्ति मच्चाउने, प्रगतिको बाटोमा जान नदिने, चन्दाका नाममका लुट मच्चाउनेजस्ता राजनीतिक आवरणमा हुने गतिविधि नियन्त्रण गरिने उनको भनाइ थियो ।

उनले जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने समेत प्रष्ट पारे । विना कारण जनतालाई आतंकित बनाउने र अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश प्रवाह गर्ने खालका गतिविधि सरकारलाई मान्य नहुने उनको भनाइ थियो । उनले धर्मको नाममा प्रतिगमनको सपना नदेख्न पनि सुझाव दिए ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा देखिएको छाउपडी प्रथाको अन्त्य गर्न सरकारले ठोस योजना ल्याउने बताए । नेपालीहरुबीच भएको सामाजिक एकतामा फाटो ल्याउने प्रयत्न भइरहेको भन्दै उनले यसबाट बिचलित नहुन सबैमा आग्रह गरे ।

सामाजिक विखण्डन ल्याएर त्यसमाथि व्यापार गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा उनको जोड थियो ।

मुलुक संघीय संरचनामा अभ्यस्त भइरहेको भन्दै प्रधानमन्त्री ओलीले प्रदेशको नामाकरणदेखि राजधानीका विषयमा धेरै विवाद नगर्न आग्रह गरे । राष्ट्रिय एकताको नीतिमा आधारित भएर अगाडि बढ्न उनको सुझाव थियो ।