Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


‘नेपाली क्रिकेट अझै ठूलो कारबाहीमा पर्नसक्नेप्रति सचेत हुनुपर्छ’


0
Shares

नेपाल क्रिकेट खेलाडी संघले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले नेपाली क्रिकेट क्षेत्रको सर्वोत्तम् हित र विकासका लागि सबै पक्ष मिल्नुको विकल्प नरहेको बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाली क्रिकेटको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी दिएको सल्लाहकार समितिको समयसीमा सकिन मात्र महिना दिन बाँकी रहेको अवस्थामा क्रिकेट खेलाडी संघले सम्बन्धित सबै पक्षलाई राखेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा क्रिकेट खेलाडी संघका महासचिव तथा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निलम्बनमा रहेको क्रिकेट संघलाई बचाउन र थप कारबाहीबाट जोगाउन ढिला गर्न नहुने बताए ।

यस्तै, आइसीसीले गठन गरेको सल्लाहकार समितिका अध्यक्ष बसन्त चौधरीले आफूहरुको प्रमुख जिम्मेवारी रहेको विधान निर्माणको कार्य करिब–करिब सम्पन्न भइसकेको भन्दै त्यसको कार्यान्वयनमा खेलकुद मन्त्रालय, राखेप र सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।

उनले आइसीसीले तोकिदिएको समयसीमा सकिन महिना दिन पनि बाँकी नरहेको अवस्थामा अझैपनि सम्बन्धित व्यक्ति तथा संघ–संस्था मिलेर अघि बढ्न तत्पर नहुने हो भने नेपाली क्रिकेट अझै ठूलो कारबाहीमा पर्नसक्नेप्रति सबै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले नेपाली क्रिकेटको विद्यमान समस्या समाधान गर्न राखेपले सक्दो प्रयास गरिरहेको र त्यसले छिटै परिणाम दिने दाबी गरे ।