Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


जथाभावी बाटो काट्नेलाई अब २०० जरिवाना, साथमा पैसा नभएकालाई कारबाही के ?


0
Shares

                                                                                      फाइल फोटो

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्री रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सन्चालन गर्न लागेको जानकारी दिए ।

उनले भने–‘जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०/८० जनाले ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।’

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ ।

ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रीले बाटो काट्दा जेब्राक्रसिङ र अकाशेपुल नै प्रयोग गर्नुपर्छ ।

जथाभावी बाटो काट्नेलाई रु २०० देखि रु एक हजारसम्म जरिवाना गरिने कानुनी व्यवस्थाबमोजिम कारबाही गर्न लागेको प्रमुख लामाले बताए ।

पैदलयात्राकाक्रममा साथमा रु दुई सय पनि नभएका यात्रीलाई तीन घन्टासम्म नियन्त्रणमा लिइ ट्राफिक नियमसम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ ।

महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाईसमेत कारबाही गर्दैआएको छ ।

गत चैत २८ गतेदेखि शनिबारसम्म सात हजार ४६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ । रासस