२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सेनाको विमान दुर्घटनाः मृतकको शव र घाइते खड्कालाई काठमाडौं लगियो (१३ तस्वीर)


0
Shares

गम्भीर घाइते पाइलट गुरुङको उपचारकाक्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए ।

विमानमा पाइलट गुरुङसहित तीनजना सवार थिए । मृतक पाइलट कैलाश गुरुङको शव र घाइते नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्कालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

दुर्घटनापछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएकी अनिता आलेको स्वास्थ्य अवस्था भने अत्यन्त गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् ।

सुर्खेतबाट चामल बोकेर हुम्लाको सिमकोटका लागि उडेको ‘एन ए ०४८’ कलसाइन भएको विमान मौसम खराब भएपछि अवतरणका लागि बाजुराको कोल्टी विमानस्थल लगिएको थियो ।

दिउँसो सवा १२ बजेतिर अवतरणकाक्रममा विमान खेतमा भासिएको र लगत्तै आगो लागेको स्थानीयबासिन्दाले बताएका छन् ।

दुर्घटनापछि विमानमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए ।