
पीडित सर्वसाधारणहरुका लागि अब पुनःनिर्माणसम्बन्धी जानकारी लिन, आफ्ना गुनासा दर्ता गर्न प्राधिकरणले निःशुल्क टेलिफोन सेवा सुरु गरेको हो ।
प्राधिकरणले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा टोल फ्रि सर्भिस सुरु गरेको हो ।
बुधबार सेवाको सुरुआत गर्दै प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले हिजोसम्म एकतर्फी सन्चार भएकोमा अब दोहोरो सन्चार हुने उल्लेख गरे ।
सर्वसाधारणहरुले एनटीसीको निःशुल्क फोन १६६०—०१—७२०० र एनसेलको ९८०१—५७२१११ मा कल गरी सम्पर्क गर्नसक्ने भएका छन् ।
बिहान ९ देखि ५ बजेसम्म कर्मचारीहरुले प्रत्यक्ष कल लिने र जवाफ दिने र अरु समयमा ‘अटोमेटेड’ गुनासो रेकर्ड गरी भोलिपल्ट ‘रेस्पन्स’ गरिने व्यवस्था गरिएको छ ।
सर्वसाधारण पीडितहरुले केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गरी आफ्ना गुनासा राख्न र पुनःनिर्माणबारे जानकारी लिनसक्ने व्यवस्था गरिएबाट आफूहरुलाई थप उत्तरदायी बन्न र पुनःनिर्माणलाई अगाडि बढाउन सजिलो हुने विश्वास गरिएको पोखरेलले उल्लेख गरे ।
स्थानीय तहमा जनप्रतिनिधि आउनु आफूहरुका लागि अवसर भएको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
प्राधिकरणले निर्वाचित नगर र गाउपालिका प्रमुख, उपप्रमुखहरुसँग स्थानीय तहबाट पुनःनिर्माणलाई अगाडि बढाउनेबारे छलफल प्रक्रिया सुरु गरिसकेको उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्