९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


दरबार हत्याकाण्डको १६ वर्षपछि त्रिभुवन सदन बन्दै


0
Shares

तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए ।

नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदैछ । दुईतले भवनको पहिलो तलाको निर्माण सकिएको छ । दोस्रो तला निर्माणको काम धमाधम भइरहेको संग्रहालयले जनाएको छ ।

संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले त्रिभुवन सदनका भित्री र बाहिरी स्वरूप पुरानोजस्तै बनाउन लागिएकाले निर्माणमा केही समय लाग्ने बताए । उनले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गरिएको थियो । पछि फेरि निर्माण गर्ने निर्णय भयो । अहिले धमाधम काम काम हुँदै छ,’ ढुंगानाले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा बन्न अझै डेढ वर्ष लाग्छ । पुरानै झल्को दिने गरी बनाइने हुँदा मिहिनेत र समय पनि धेरै लाग्छ ।’

संग्रहालयका अनुसार त्रिभुवन सदन निर्माण चार करोड रुपैयाँ लागतमा हुँदै छ । त्यसमध्ये दुई करोड रुपैयाँ भवनमा र दुई करोड रुपैयाँ भित्री डेकोरेसनमा खर्च हुनेछ । अहिलेसम्म डेढ करोड रुपैयाँ खर्च भइसकेको छ ।

संग्रहालयका अनुसार सदन निर्माण अवधि तीन वर्षको हो । निर्माणकार्य डेढ वर्ष अघिदेखि हुँदै छ । डेकोरेसनका लागि मात्रै थप दुई वर्ष लाग्ने भएको सबै निर्माण सक्न पाँच वर्ष लाग्नेछ ।

श्रीपेच अझै सार्वजनिक नहुने

तत्कालीन राजा ज्ञानेन्द्रले नासोका रूपमा सरकारलाई बुझाएको श्रीपेच अझै सार्वजनिक नगरिने भएको छ । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक गर्न ढिलाइ भएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले बताए ।

‘सर्वसाधारणका लागि श्रीपेच सार्वजनिक गर्ने भनिएको थियो । सुरक्षा प्रबन्धका कारण यस्तो भएको हो । श्रीपेच राख्ने ठाउँको सुरक्षा विश्लेषण गर्न सकिएको छैन,’ ढुंगानाले भने, ‘सबै व्यवस्थापन नभएकाले श्रीपेच सार्वजनिक हुन अझै समय लाग्छ ।’

नारायणहिटी दरबार संग्रहालयमा रूपान्तरण भएलगत्तै श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिने भनिएको थियो । –नयाँ पत्रिका दैनिकबाट