Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


बागमती नदीको पानीलाई पिउन योग्य र ऐनाजस्तो छर्लङ्ग बनाउनुपर्छः मन्त्री ज्ञवाली


13
Shares

काठमाडौं । बागमती नदी सफाई महाअभियानको ३ सयऔं हप्ता पूरा भएको छ ।

‘स्वच्छता मेरो पहिचान: सफाइ मेरो योगदान’ भन्ने नारा साथ आज वागमती नदी सफाइ महाअभियानको ३ सय औँ हप्ताको अवसरमा विशेष कार्यक्रम गरिएको छ । 

शहरी  विकास मन्त्रालयको आयोजनामा विशेष कार्यक्रम गरी नदी सफाई गरिएको हो ।

सफाई अभियान अन्र्तगत काठमाडौको शंखमूलस्थित वाग्मती नदी किनारमा गरिएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वाग्मती नेपालको सभ्यता भएकाले सबैलाई वाग्मती सफाई अभियानमा जुट्न आग्रह गरे ।

उनले फोहोर ब्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन पनि दिए । वाग्मतीको पानी पिउन योग्य र वाग्मतीको पानीमा आफ्नो मुहार ऐनामा जस्तो छर्लङ्ग नदेखिएसम्म सफाई अभियानले पूर्णता नपाउने बताए ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री विना मगरले वाग्मती सफाई अभियानलाई निरन्तरता दिने बताए ।

वाग्मती नदीलाई जीवन्तता दिनको लागि सबै क्षेत्रको सकृयता आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा वाग्मती सफाई अभियानमा सकृय सहभागिता जनाई उल्लेख्य भूमिका निर्वाह गर्ने संघ, संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

२०७० साल जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए ।

सुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती, नख्खु, कर्मनाशा, इन्द्रमती, मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो ।

२०० औं हप्तासम्म सुन्दरीजलबाट चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न १० बुँदे घोषणापत्र जारी गरिएको थियो ।

यस अवधिमा करिब १८ हजार मेट्रिक टन फोहर उठाई सकिएकोे छ ।

यस कार्यमा एक हजार ८५० संघसंस्था आबद्ध रही करिब १० लाख स्वयंसेवी परिचालन भएका थिए ।

बाग्मती नदी सफाई महाभियान चलेको ३ सयऔ हप्ता भए पनि नदी पूर्णरुपमा सफा भने हुन सकेको छैन ।

विगतको तुलनामा नदी केही सफा भए पनि फोहोर फाल्ने र ढल मिसाउने काम अझै नरोकिएकाले नदी सफा हुन नसकेको हो ।