२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्वकप छनोट फुटबलमा स्वीडेनसँग फ्रान्स पराजित


0
Shares

घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई जिताउन जिमी डर्माज र ओला टोइवोननले गोल गरे । फ्रान्सका लागि ओलिभर जिरउडले एक गोल गरेका थिए ।

जिरउडले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए पनि ४३ औं मिनेट र इन्जुरी समयमा गोल गरेर स्वीडेनले खेल २–१ ले जित्दै आफ्नो पक्षमा पारेको हो । जितसँगै स्वीडेन समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा झरेको छ ।

समूह ए अन्तर्गत नै भएको खेलमा नेदरल्याण्डसले लग्जेम्बर्गलाई ५–० तथा बेलारुसले बुल्गेरियालाई २–१ ले हरायो ।

गएराति नै भएको समूह ‘बी’ को खेलमा पोर्चुगलले लात्भियालाई ३–० ले हरायो । पोर्चुगलको जीतमा कप्तान क्रिष्टियानो रोनाल्डो नायक बन्दै दुई गोल गरे भने एक गोल भालेन्टे सिल्भाले गरे ।

रोनाल्डोले विश्वकप छनौट खेलमा अहिलेसम्म ११ गोल गरिसकेका छन् र उनी युरोपियन क्षेत्रमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । पोर्चुगलले छनौट चरणका पछिल्ला पाँच खेलमा जितेको छ । ६ खेलबाट १५ अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ ।

गएराति नै भएको खेलमा फारोइ आइल्याण्डलाई २–० ले हराउँदै स्वीट्जरल्याण्ड १८ अंकसहित शीर्ष स्थानमा छ । समूह बी कै खेलमा एन्डोराले हंगेरीलाई १–० ले हरायो ।

समूह एचका खेलमा भने बेल्जियमले इस्टोनियालाई २–० ले, जिब्रालटारले साइप्रसलाई २–१ले हरायो भने बोसनिया हर्जगोविना र ग्रिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।