
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिए ।
उनकाअनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ‘ए’ डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ ।
यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा आयोजक युएई, लेबनान र उज्वेकिस्तान छन् ।
नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएईसँग खेल्नेछ । त्यसैगरी, साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।
छनोट चरणका सम्पूर्ण खेल युएईस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रंगशालामा हुनेछ ।
यसअघि, सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन ।
समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ ।
त्यस्तै, दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् ।
४० राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्