Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


साधुसन्तले छाडे नरेन्द्र मोदीको साथ


0
Shares

लखनउ, माघ १७ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई ‘हिन्दुवादी’ मानिन्छ । तर पछिल्लो समय हिन्दु संघ–संगठनले भाजपा नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउन थालेका छन् ।

हालै साधुसन्त सम्मिलित परम धर्म संसदले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध आलोचना प्रस्ताव पारित गरेको छ । प्रयागराजको कुम्भ क्षेत्रमा तीन दिवसीय परम धर्म संसद आयोजना गरिएको थियो, जसले अयोध्यामा राम मन्दिर निर्माणमा केन्द्र सरकार उदासिन रहेको आरोप लगाउँदै २१ फेब्रुअरीबाट आफैंले मन्दिर निर्माण सुरु गर्ने घोषणा गरेको छ ।

वसन्त पञ्चमीका दिनबाट साधुसन्तहरु अयोध्यातर्फ प्रस्थान गर्ने र २१ फेब्रुअरीबाट मन्दिर निर्माणमा जुट्ने घोषणा गरिएको हो । मन्दिर कुन ठाउँमा बनाउने भन्ने प्रष्ट पारिएको छैन ।

शंकराचार्य स्वरुपानन्द सरस्वतीले राम मन्दिर निर्माणको घोषणा गरेका हुन् ।

परम धर्म संसदका आयोजक तथा गंगा सेवक अभियानका प्रमुख स्वामी अविमुक्तेश्वरानन्दका अनुसार केन्द्र सरकारबाट राम मन्दिर निर्माण हुने आशा नभएकाले यस्तो निर्णय गरिएको हो । मोदी नेतृत्वको सरकारको आलोचना गर्दै उनले भने, ‘जुन सरकारले काशी र प्रयागमा सयौं मन्दिरलाई भत्काएर नष्ट गरेको छ, त्यो सरकारबाट मन्दिर निर्माणको आशा गर्नु मुर्खताबाहेक केही हुनेछैन ।’

शंकराचार्य स्वरुपानन्द सरस्वतीले पनि नरेन्द्र मोदीप्रति लक्षित गर्दै भने, ‘गंगा माताले बोलाउनु भएको छ, म गंगालाई स्वच्छ बनाउँछु भन्दै आकर्षक नारा लगाएर हिन्दु धर्मावलम्बीको सहानुभूति लिए पनि अहिलेसमम न गंगा नदी निर्मल भएको छ, नत अविरल नै भयो ।’ (एजेन्सी)