केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भीर पहिरो लड्नै लागेको छ ।
जमिन फाटेर एक मिटर ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेको गंगाजमुना–२ का वडाध्यक्ष फैसिंह तामाङले बताए ।
प्रुन्दुङ गाउँमा तामाङहरुका १२ घर छन् । गाउँबासी सबैले सोमबारदेखि नै घर छाडेको पहिरो प्रभावित अमृत तामाङले जानकारी दिए । यससँगैको सल्लेमा पनि सात घर छन् ।
पहिरोको जोखिम बढेकाले उनीहरु सबैको पुनःस्थापना गर्नुपर्ने अवस्थामा रहेको गाउँबासीको भनाइ छ ।
सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदलदूरीमा रहेको प्रुन्दुङ गाउँका बालबालिका र वृद्धलाई खुला आकाशमुनि बस्नुपर्ने भएपछि समस्या परेको र भूकम्पपछि गाउँमा जोखिम बढे पनि समाधान गर्न नसकिएको वडाध्यक्ष तामाङको भनाइ छ ।
वर्षाका समयमा गाउँनजिकै सवारी–साधन पुग्नसक्ने अवस्था छैन । गाउँमा आपत्कालीन अवस्थामा बस्नका लागि त्रिपालसमेत नभएको र सामुदायिक आवास भवन गाउँबाट टाढा भएकाले समस्या परेको गाउँबासीको गुनासो छ ।
गाउँ जोखिममा परेका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङमा खबर गएकाले गाउँबासीलाई सुरक्षित गरिने जानकारी दिइएको छ ।
वि.सं. २०७२ वैशाख १२ को भूकम्पपछि रि गाउँबासी पहिरोको उच्च जोखिममा रहेपनि वैकल्पिक व्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा गाउँमा नै बस्दै आएका छन् । रासस










प्रतिक्रिया दिनुहोस्