Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ओखरपौवामा फोहोर फाल्न अवरोध, काठमाडौंबाट फोहोर बोकेर गएका गाडी अलपत्र


0
Shares

वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा आज बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन् ।

स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिए ।

स्थानीय बासिन्दाले फोहोर फाल्ने डम्पिङ क्षेत्रमा फोहोरको विर्सजनपश्चात् दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्ने दुईबुँदे माग राखेर फोहोर फ्याक्न अवरोध पुर्‍याएका हुन् ।

यस अघिदेखि नै स्थानीयवासीले फोहोर व्यवस्थापनमा सुधारको माग राख्दै आए पनि बेवास्था गरेपछि बाध्य भएर रोक्नुपरेको ककनी गाँउपालिका–२ का वडा अध्यक्ष घननाथ बज्रगार्इंले बताए । ‘हाम्रो माग धेरै भए पनि तत्कालको लागि फोहोरको दुर्गन्ध रोक्न दुईबुँदे माग राखेका छौं,’ वडा अध्यक्ष बज्रगाईंले भने, ‘अब यसको विकल्प खोज्नको लागि समेत ध्यानाकर्षण गराउँछौ, तीन वर्षको लागि सहमति भए पनि १३ वर्ष भइसकेकाले सधैँको लागि बन्द गराउन लागेका छौँ ।’

अवरोध खुलाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि एंव जनप्रतिनिधि र स्थानीयबासिन्दाबीच प्रयास शुरु गरेको छ । (रासस)