-युवराज रोइला/ईमेज
दिक्तेल-गाईघाट सडक खण्ड अन्तर्गत जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी र दिप्रुङ गाउपालिका–४ बतासे जोड्ने साप्सु खोलामा ३ वर्षदेखि निर्माणाधिन पुलको काम अलपत्र परेको हो ।
६ करोडमा दुई वर्षमा १८ महिनाभित्र पूरा गर्ने गरी २०७१ सालमा सम्झौता भएको साप्सु पुलको हालसम्म टसल र पिलर ठड्याउने काम मात्र भइरहेको छ ।
दोस्रोपटक थप भएको म्याद सकिएको तीन महिना बित्दा समेत पुल निर्माणको काम अलपत्र परेको स्थानीयको गुनासो छ ।
सम्झौता अवधिमा साप्सु पुल निर्माणको काम नभएपछि एक बर्षका लागि दोस्रोपल्ट थप भएको म्याद पनि गत बैशाख महिनामै सकिएको छ ।
पुल निर्माणको काममा ठेकेदार कम्पनी देवसायर एण्ड कान्छाराम जेभीको चरम ढिलासुस्ती देखिएको स्थानीयको गुनासो छ ।
समयमा पुल निर्माण नहुँदा वर्षा याममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हाल पुलको काम ठप्प छ ।
ढलानको लागि तयार पारिएको केही टसलमा गत बैशाख ६ गते बुधबार आएको बाढीले क्षती पुर्याएको थियो ।
ढलानका लागि ठड्याइएको २४ वटा फर्मामध्ये १२ वटा टेको बाढीले बंग्याएपछि ठेकेदारले हाल त्यही कारण देखाएर कामलाई गति दिनमा आलटाल गरिरहेका छन् ।
पहिलाको सम्झौता अवधिमा पुलको काम नहुँदा दोस्रो पल्ट थपिएको म्यादभित्र पनि पुल निर्माणको काम नहुँदा स्थानीय असन्तुष्ट छन् ।
तोकिएको मितिमा पुल निर्माणको काम नभएपछि २०७३ साल कार्तिकमा दोस्रोपटक पुलको म्याद थपिएको थियो ।
तोकिएको मितिमा पुल निर्माणको काम नहुँदा जिल्लामा ठेकेदारको चर्को आलोचना भइरहेको छ ।
पुल निर्माणमा ढिलासुस्ती गरेकामा गत वर्ष १४ लाख पेनाल्टी तिरेको ठेकेदारले यसपल्ट पनि लाखौं पेनाल्टी तिर्दैछ ।
जिल्लाको साप्सु लगायतका पुल निर्माणमा भइरहेको ढिलाइका बिरुद्ध केही समयअघि उद्योग बाणिज्य संघले बहस तथा स्थानीय शान्ति समितिको नेतृत्वमा सडक विभागमा धर्नासम्मका कार्यक्रम गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्