२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


ट्रम्पले पठाए किमलाई पत्र


0
Shares

वासिङ्टन, माघ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन् ।

उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगतरुपमा पत्र पठाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले जानकारी दिएको छ ।

साथै, यस विषयमा बिहीबार उत्तर कोरियाली सन्चारमाध्यमहरुले पनि जानकारी गराएका छन् ।

यसअघि, करिब हप्ता दिनअघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाएको समाचार आएको थियो ।

उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिएको अमेरिकी टेलिभिजन ‘सीएनएन’ले जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डसर््लाई उद्धृत गर्दै उक्त टीभीले जनाएको छ–‘राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेख्नुभएको छ ।’

बिहीबार उत्तर कोरियाली सरकारी समाचार समिति ‘केसीएनए’ले उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र हात पारेको जनाएको छ ।

उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल वर्कर्स् पार्टीका उपाध्यक्ष किम योङ चोलले दिएको सो समाचारमा जनाइएको छ ।

चोल हालै अमेरिकाको भ्रमणमा गएका थिए । उनले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गरेका थिए ।

किमले उक्त पत्र प्राप्त गरेर सन्तुष्टि प्राप्त गरेको जानकारी पनि उत्तर कोरियाली समाचार समिति केसीएनएले दिएको छ ।

उक्त समाचार समितिले समाचारमा भनेको छ–‘उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त गरेपछि खुसी हुनुभएको छ । उहाँहरुबीच यो महिनामा कैयौं पत्रहरु आदान–प्रदान भएका छन् ।’

गत शुक्रबारमात्र पनि उत्तर कोरियाली सत्तारुढ दलका उपाध्यक्ष चोलले अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमका तर्फबाट पत्र हस्तान्तरण गरेका थिए ।

सोही पत्रको जवाफमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमलाई यो पत्र प्रेषित गरेको कोरियाली सन्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली नोता किमले गत नोभेम्बरको सुरुमा नै वासिङ्टनको भ्रमण गर्ने समय तालिका रहेको बताइएको थियो ।

तर, त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चिसोपना आएपछि सो भ्रमण रद्द भएको थियो ।

उत्तर कोरियाली नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएका थिए । सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सन्चारमाध्यमले खुलासा गरेका थिए ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा शिखर वार्ता भएको थियो ।

उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन ।

उक्त बैठक आगामी फेब्रुअरीको अन्त्यमा हुने भएको समाचार हालैमात्र आएको छ ।

दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ । तर, यस विषयको अन्तिम टुंगो भने लागेको छैन । रासस/सिन्ह्वा