२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा


0
Shares

काराकास, माघ १० । भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका छन् ।

गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुसी मनाउँदै जुलुस निकालेका छन् ।

गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्णसमर्थन रहने घोषणा गरेका छन् भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिनासमेतले गुएइदोलाई समर्थन गरेका छन् ।

राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कूटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिएका छन् । यद्यपि, राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाकाबारेमा केही सार्वजनिक भएको छैन ।

भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ ।

राजधानी काराकाससमेत देशका सबै प्रमुख सहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भएका छन् । नारा जुलुसकैक्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु पनि भएको छ ।

देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् ।

‘आज जे भएको छ, यसले हामीमा एउटा आशाको सन्चार भएको छ । यो अतिआवश्यक थियो । अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ’–सरकारविरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले बताए ।

राष्ट्रियसभाका विपक्षी नेता गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै सडकमा उत्रिएका फ्लोरेसले उक्त आशा र विश्वास व्यक्त गरेका हुन् ।

‘गुएइदोले जे भन्नुहुन्छ, हामीले समर्थन गर्नुको अब विकल्प छैन । उहाँले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ । उहाँले अब चुनावको मिति घोषणा गर्नुपर्दछ’–फ्लोरेसले बताए–‘काराकासको पूरै सहर उहाँको समर्थनमा सडकमा उत्रिएको छ ।’

घोषणालगत्तै सडकमा सवारी–साधनले लगातार हर्न बजाएका थिए । कतिपय रंगीविरंगी पोसाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झन्डा फहराएका थिए ।

प्रदर्शनकारीहरु सहरका एक कुनाबाट अर्को कुनामा मोटरसाइकलमा झन्डा हालेर दौडिरहेका थिए ।

भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन संकटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपिरहेको मदुरोको शासनकाविरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए ।

गत वर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अवैध घोषणा गरेका थिए ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भने–‘हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ । हामीले पूर्णलोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौं ।’

एकजना मानवअधिकारवादी वकिल गोन्जालेजले भने–‘हुँवा गुएइदो राष्ट्रपति भइसक्नुभो । त्यसका लागि हामी लड्न अझै तयार हुनुपरेको छ ।’ रासस/एएफपी