२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाल टेलिकमका उपहार थप तीन महिनाका लागि, यस्ता छन् सुविधा


0
Shares

कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक रुचाएकाले तिनलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सो उपहार आगामी कात्तिक २३ गतेसम्म कायम रहनेछ । सोअन्तर्गत अल टाइम डाटा प्याकेज, रात्रिकालीन डाटा प्याकेज, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज छन् । जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिनेछ । अल टाइम डाटा प्याकेजअन्तर्गत रु २५ मा सात दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी रु ५० मा १५ दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, रु १०० मा ३० दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, रु २०० मा ३० दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र रु ३०० मा ३० दिनसम्म चौबीसै घण्टा उपभोग गर्न पाउने गरी एक हजार ५०० एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी रात्रिकालीन डाटा प्याकेजअन्तर्गत रु ४५ मा ५०० एमबी डाटा सात दिनसम्म र रु ९० मा एक हजार २०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइनेछ । सोबाहेक रु २०० मा तीन जिबी डाटा र रु ३०० मा ६।५ जिबी डाटा ३० दिनसम्म चलाउन पाइनेछ । रात्रिकालीन डाटा प्याकेज राति १० बजेदेखि बिहान ६ः०० बजेसम्म चलाउन पाइनेछ ।

‘फेसबुक/इन्स्टाग्राम डाटा प्याकअन्तर्गत रु २५ मा ११० एमबी डाटा सात दिन र रु ५० मा २३० एमबी डाटा १४ दिन तथा रु १०० मा ५०० एमबी डाटा र रु २०० मा एक हजार १०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा पहिलेदेखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकेजलाई पनि निरन्तरता दिएको छ । सोअनुसार रु ५० मा २०० एमबी डाटा सात दिनका लागि र १०० मा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी रु २०० मा एक हजार २०० एमबी, रु ३०० मा दुई हजार एमबी र रु ५०० मा तीन हजार ६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानमा फोरजी मोबाइल सेट भएका ग्राहकलाई लक्ष्य गरी ल्याइएको हो भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्नेगरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी÷थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजी/थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पूरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिनेछ ।

रात्रिकालीन भ्वाइस प्याकेजअन्तर्गत रु २५ मा राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि स्टार १४१५ ह्यासमा डायल गर्नुपर्नेछ । (रासस)