
वर्षा भईरहेकाले बाढीको संभावना उत्तिकै रहेकोले बाँकी रहेका पर्यटकहरुलाई आज सुरक्षित ठाउँमा सार्न लागिएको हो ।
शनिबार रातीदेखि सौराहामा करिव ६ सयको हाराहारीमा पर्यटक फसेका थिए भने आधा जसो पर्यटक आइतबार नै सौराहाबाट उद्धार गरिएको छ ।
अब आधा मात्रै पर्यटक बाँकी रहेकाले उनीहरुलाई आजै जिल्ला बाहिर लैजाने तयारी भईरहेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
उनले भने–‘धेरैजसो आन्तरिक तथा बाह्य पर्यटकलाई हिजै सौराहाबाट सारेका छौं, बाँकीलाई आज सडक संजाल वा हवाई मार्गबाट काठमाडौं पठाउँछौं ।’
वर्षा भइरहेकोले फेरी पनि सौराहामा बाढी पस्न सक्ने उत्तिकै संभावना रहेको उनले बताए बताए । त्यसैले सबै पर्यटन व्यवसायी र स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको बताए ।
यस्तै अध्यक्ष घिमिरेले पानी घटेकोले आज सौराहाको होटलहरुको पूर्ण क्षति विवरण संकलन गरिने जानकारी दिए । चितवनमा आएको बाढीले ३ हजार घरधुरी प्रभावित भएका छन् । बाढीमा परी ३ जनाले ज्यान समेत गुमाएका छन् ।
पूर्वी चितवनको पम्फा खोलाले बगाउँदा राप्ती नगरपालिका वडा नं ८ की गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका वडा नं ३ का कमलबहादुर प्रजा र राप्ती नगरपालिका वडा नं.४ बस्ने वर्ष ७७ की फुलमती प्रजा बाढीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
यस्तै बाढीमा परि एक जना घाईते भएका छन् भने एक जना बेपत्ता भएका छन् । बाढीमा फसेका कुल २ हजार ९ सय ५७ जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
प्रहरीका अनुसार हिजोको बाढीमा परि चितवनका २१ घर पूर्ण रुपमा क्षति भएको र एक हजार ५ सय ३४ घर डुबानमा परेको थियो ।
मेयरको नेतृत्वमा खोज तथा उद्धार समिति
आइतबार अपरान्ह बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले प्रत्येक नगरपालिकामा मेयरको नेतृत्वमा खोज तथा उद्धार टोली गठन गर्ने निर्णय गरेको छ ।
बैठकले बाढीले प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो उद्धार गर्न सहज होस् भने यो निर्णय गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
गठन हुने समितिको नेतृत्व मेयरले गर्ने छ भने टोलीमा नेपाली सेना, पुलिस, नेपाल रेडक्रसको संलग्नता रहने छ ।
राहत बाँड्दा समन्वय गर्नुपर्ने
जिल्ला दैविप्रकोप उद्धार समितिले विभिन्न संघसंस्थाहरुले राहत वितरण गर्दा जिल्ला दैविप्रकोप उद्धार समितिसंग समन्वय गरि मात्र राहत वितरण गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै प्रभावित क्षेत्रका जनप्रतिनिधिको रोहबरमा राहत वितरण गर्ने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस्