२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बाढी प्रभावित जिल्लामा आवश्यक औषधिसहितको टोली पठाइयो


0
Shares

आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक मंगलबार (आज) पठाइएको हो ।

विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक चुडामणि भण्डारीले प्रभावित स्थानहरूमा प्रजनन् स्वास्थ्य शिविर सन्चालन गर्ने र शिविरमार्फत न्यानो झोला, महिलाले प्रयोग गर्ने स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

विभागका अनुसार बाढी पहिरोका कारण महोत्तरी, सप्तरी, रौतहटलगायतका जिल्लाका १५ बर्थिंग सेन्टर चल्न सकेका छैनन् । समितिले ती सेन्टरलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा टेन्टबाट सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ ।

संयोजक भण्डारीले बाढी प्रभावित जिल्लामा महामारी फैलन नदिन जनचेतनाका लागि स्वास्थ्य शिक्षा र अन्य सामग्रीसहितको टोली पनि प्रभावित जिल्लामा पठाइएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्रबाट १६ ओटा हाते माइक, स्वास्थ्य सन्देशसहितका विभिन्न पम्प्लेट र बाढी पहिरोपछि फैलने महामारी रोकथामसम्बन्धी २५ हजार बाढी सामग्री पहिरो प्रभावित स्थानमा मंगलबार (आजै) पठाइएको संयोजक भण्डारीले जानकारी दिए ।

प्रभावितहरू अस्थायी तथा अव्यवस्थित बसोबास गरिरहेकाले कीटजन्य रोगको उच्च सम्भावना रहेकाले रोग निदानको लागि प्रयाप्त परिमाणमा तत्काल उपचार सामग्रीको व्यवस्था गरेको विभागले जनाएको छ । रासस