
बाग्लुङ, माघ ६ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित भल्कोटमा मनाइँदै आएको ऐतिहासिक पुतली नाच प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको छ । माघ १ देखि ९ गतेसम्म मनाइने यो नाचको संरक्षणमा भने स्थानीयले चासो देखाइरहेका छन् ।
भल्कोटमा अहिले पुतली नाचको चहलपहल र रौनक भइरहेको छ । ऐतिहासिक पुतली नाच यहाँको विशिष्ट मौलिक संस्कृति हो । यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न स्थानीय रुपमा तिलाचन युवा क्लब गठन गरिएको छ । यो मेला पहिला शनिबार र मंगलबार पारेर नाचिन्थ्यो । अहिले आएर पुस मसान्तमा तरुल खन्ने, माघ १ गते माघी मेला मनाउने, तरुल खाने र २ गते साँझ पुतली बनाएर ३ गते बेलुकीसम्म नाच्ने र बिसर्जन गर्ने गरिन्छ । बार, तीथि र मिति हेरेरमात्रै माघको १ देखि ९ गतेसम्म यो नाच मनाइने गरिन्छ । यसलाई संरक्षण गर्नुपर्ने स्थानीयको धारणा छ ।
गाउँगाउँमा यातायातको सञ्जाल जोडिएसँगै म्याग्दी, रोल्पा, रुकुम, गुल्मी, पर्वत, लगायतका ठाउँबाट यो नाच हेर्न आउन थालेका छन् । स्थानीय कला संस्कृतिलाई संरक्षण सम्वर्द्धन र प्रचारप्रसार गर्न विभिन्न कार्यक्रम गर्दै आएको तिलाचन युवा क्लवका अध्यक्ष कुशल बुढा मगरको भनाइ छ ।
विभिन्न खालका सांस्कृतिक र कलात्मक प्रस्तुति देखाएर दर्शकलाई भरपुर आनन्द दिने भए पनि यसमा बोलिने अश्लील शब्द भने सुधार गर्नुपर्ने आवाज उठिरहेको छ । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा रहेको यो परम्परालाई प्रचार प्रसार र थप समुन्नत बनाउन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्