Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


निर्मलाकी आमाको गुनासो– डीएनए परीक्षणका लागि प्रहरीले स्थानीयबासीको रगत संकलन गरेपछि छिमेकी रिसाए


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, माघ ६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरीले डीएनए परीक्षणका लागि स्थानीयको रगत संकलन गर्न थालेपछि छिमेकी रुष्ट बनेका छन् ।

प्रहरीले रगत संकलन गर्न थालेसँगै निर्मलाका परिवारसँग छिमेकीको सम्बन्ध चिसिँदै गएको हो । घटनाको सुरुवातदेखि नै सहयोग गर्दै आएकामाथि नै शंका गर्दै प्रहरीले डीएनए परीक्षणका लागि रगत संकलन गर्न थालेपछि निर्मलाकी आमासँग छिमेकी रुष्ट भएका हुन् ।

आमाले नै नाम दिएकाले प्रहरीले आफूहरुको डीएनए परीक्षण गर्न रगत संकलन गरेको छिमेकीको आरोप छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीले रगत संकलन गरेपछि छिमेकीहरु आफूसँग रुष्ट बनेको गुनासो गरिन् । ‘सुरुमै प्रहरीको लापरवाहीका कारण अहिलेसम्म दोषी पत्ता लाग्न सकेन, उनले भनिन्, ‘दोषी पत्ता लगाउन भन्दै प्रहरीले स्थानीय युवाको रगत संकलन गरेपछि छिमेकीहरु मसँग रुष्ट हुन थाले, मैले नै नाम भनेर प्रहरीले रगतको नमूना संकलन गरेको उनीहरुको बुझाइ छ ।’

कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भने अनुसन्धानका क्रममा शंकास्पद देखिएका व्यक्तिको मात्रै डिएनए परीक्षण गरिएको भन्दै परिवार वा अन्य कसैले छिमेकीको नाम नदिएको स्पष्ट पारे । अनुसन्धानका क्रममा शंकास्पद देखिएको भन्दै प्रहरीले झन्डै दुई दर्जन छिमेकीसहित एक सय जनाको डीएनए परीक्षण गरिसकेको छ । तर हालसम्म घटनामा संलग्न व्यक्तिको भने पहिचान हुन सकेको छैन ।