
बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवकलाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।
गोली लागेका भारतीय नागरिक दुबैजना शारदा ब्यारेजका कर्मचारी रहेको बुझिएको छ ।
गोली हान्ने युवकमा भीमदत्त नगरपालिका–९ मटेनाका १७ वर्षीय करनसिंह भण्डारी र २१ वर्षीय विक्रमनाथ रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई भीमदत्त नगरपालिकाको जिमुवा क्षेत्रबाट गोली प्रहारमा प्रयोग गरिएको पेस्तोल र चक्कुसहित बरामद गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक रघुनाथ भण्डारीले जानकारी दिए ।
घाइतेलाई वनवासामा उपचारपछि शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कन्चनपुर ल्याइएको छ । चौहानको पाखुरा र सिंहको पिँठ्यूमा गोली हानेर युवकद्वय भण्डारी र नाथ मोटरसाइकलमा भागेका थिए ।
प्रहरीले लुटपाट गर्ने नियतले गोली हानेको हुनसक्ने अनुमान गर्दै घटनाबारे विस्तृत् अनुसन्धान गरिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्