Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


मजदुरी गरेर भारतबाट दशैंका लागि फर्किंदै गरेका तीनजना लुटिए


0
Shares

भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मादक पदार्थमा बेहोस हुने औषधि मिसाएर उनीहरुलाई लुटपाट गरिएको हो । उनीहरुको साथबाट रु ८५ हजारभन्दा बढी रकमसमेत लुटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटपाटमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । ‘हामी राति भारतको टनकपुर बजार पुगेर त्यही बास बस्यौँ,’ लुटिएकाहरुसँगै भारतबाट फर्किंदै गरेका सल्यानकै गंगाराम रानाले भने, ‘नौजनाको समूह बनाएर फर्किंदै गर्दा बाटोमा साथीहरुलाई रक्सी खुवाएर लुटियो ।’

नेपाल–भारत सिमानानजिकै रहेको ब्रह्मदेव बजार हुँदै भीमदत्तनगरतर्फ आइरहेका बेला आफूहरु लुटिएको उनले बताए ।

औषधिबाट बेहोस रहेका तीनैजनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिप्रका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । (रासस)