
विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि ९ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।
सुन तस्करीको अभियोगमा लिजुएन, जुल्पिङ झो पिङलगायत नौ जना चिनियाँ नागरिकलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्षभन्दा माथिको कैद सजाय सुनाएको थियो । उनीहरुलाई थुनुवा कोठामा राखिएको थियो ।
त्यसैगरी, भारतको पश्चिम बंगाल कालिङपोङ–६ निवासी तेन्जिङ छिरिङ भुटियालाई आठवर्ष कैद र रु नौ लाख ८५ हजार ३१६ जरिवाना तोकिएको थियो । भारतको उत्तर प्रदेशको बहराइच राम नजिद्दर निवासी मोहम्मद इब्राहिमलाई सुन तस्करी र हातहतियार खरखजाना मुद्दामा नौ वर्ष कैद तथा रु एक लाख जरिवाना गरिएको थियो ।
त्यस्तै, खोटा सिक्का नोट चलन गरेका अभियोगमा कैद सजाय भोगिरहेका एक पाकिस्तानी नागरिक पनि जेलबाट फरार भएकाको सूचीमा छ ।
फरार विदेशी नागरिकका हकमा गोरखापत्रमा सूचना प्रकाशन गर्नेमात्र आफूहरुको काम भएको अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्की बताउँछन् । कारागारबाट भागेका नेपाली कैदीलाई क्रमिकरुपमा पक्राउ गरिएको र विदेशी नागरिकको हकमा तातोपानीस्थित सीमानाकामा तैनाथ चिनियाँ सुरक्षाकर्मी र भारतीय सीमा नाकाका सुरक्षाकर्मीसँग सम्पर्क राख्ने काम भइरहेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।
भूकम्प आएलगत्तै कारागारबाट २१६ जना कैदी भागेका थिए । फरारमध्ये ११८ जना सम्पर्कमा आइसकेका छन् र अझै ९८ जना सम्पर्कमा आउन बाँकी छ । फरार रहेकामध्ये सुन तथा अखेटोपहार तस्करी, जबर्जस्ती करणी, मानव बेचबिखन, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका, चोरीलगायतका अभियोगमा सजाय भोगिरहेका थिए ।
भागेका कैदीलाई प्रहरीले पुनः पक्राउ गरेपछि थप सजाय हुने भएकाले कैद भुक्तान हुन थोरै समय बाँकी रहेकाहरु भने स्वयं उपस्थित भई इमान्दारिता देखाएको जिल्ला कारागार शाखाले जनाएको छ ।
प्रहरीले पक्राउ गरेकामा २०५९ सालदेखि फरार रहेकाहरु छन् । सुन चोरी पैठारी अभियोगमा चारवर्ष कैद तथा रु २० करोड जरिवाना तोकिएको भोटेकोशी गाउँपालिका लिस्ती निवासी दावा तामाङ र डेढ वर्ष कैद र रु छ लाख ८१ हजार ७८३ जरिवाना तोकिएका भ्रष्टाचारी मुद्दाका अभियुक्त मेलम्ची नगरपालिका–२ भोटेचौर निवासी श्रीराम खतिवडालाई प्रहरीले हालै नियन्त्रणमा लिएको छ ।
सम्पर्कमा आइसकेका फरार अभियुक्तलाई स्थान अभावले विभिन्न जिल्लामा पठाउने गरेको सो शाखाले जानकारी दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्