
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी ताजिकिस्तान जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको हो ।
एसियन कप छनोटअन्तर्गत आगामी असोज २४ गते नेपालले ताजिकिस्तानसँग ‘अवे’ खेल खेल्दै छ । प्रतियोगिताअन्तर्गत अघिल्लो महिना घरेलु मैदानमा ताजिकिस्तानसँग पहिलो खेल खेलेको नेपाल २–१ ले पराजित भएको थियो ।
ताजिकिस्तानविरुद्ध हुने दोस्रो खेलको लागी एन्फाले यसअघि नै बिराज महर्जनको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरिसकेको थियो । ग्योतोकु कोजीको प्रशिक्षणमा रहेको नेपाली टोली शुक्रबार बेलुका ताजकिस्तान प्रस्थान गर्ने छ ।
नेपाल, ताजिकिस्तान, यमन र फिलिपिन्सगरी चार टोली सम्मिलित समुहमा हरेक टोलीले ‘होम एण्ड अवे’ गरी एक अर्कासँग २–२ खेल खेल्ने छन् ।
जारी छनोट प्रतियोगितामा तीन खेल खेलेको नेपाल २ हार र १ बराबरीको साथ १ अंक जोड्दै अंक तालिकाको पुछारमा रहेको छ । छनोटको सम्भावना कायम राख्न नेपाललाई ताजिकिस्तानबिरुद्ध जित्नै पर्ने दबाब रहेको छ ।
प्रतिक्रिया दिनुहोस्