
दीपक श्रेष्ठ र सहदीप केसी (इमेज)
काठमाडौं, पुस २४ । काठमाडौंमा केही समययता तस्करी गरेको सुन सस्तोमा दिने भनेर ठगी गर्ने घटना बढ्न थालेको छ ।
सस्तोमा सुन बेच्ने भन्दै नक्कली सुन दिएर ठगी गर्ने धेरै गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।
नक्कली सुन दिएर ठगी गर्ने गिरोहहरुले ‘केरुङबाट तस्करी भएर आएको सुन सस्तोमा बेच्ने’ भन्दै ठगी गर्ने गरेको पाइएको छ ।
केही दिनअघिमात्र यस्तै नक्कली सुनलाई सक्कली भनी न्यूरोडकी एकजना महिलासँग ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीको सीआइबीको टोलीले पक्राउ गरेको थियो ।
समीर लामासहित रोहित मगर भनिने पूर्णबहादुर पुलामी, पवन विक, मनीष ढुंगाना, सन्तोषकुमार लामा, मनोज लामा, सरिता शेर्पा भनिने संगीता राई, सुरेश राई र सागर राई पक्राउ परेका हुन् ।
बजारमा ठूलो परिमाणमा सुन खुल्लम खुला किनबेच नहुने हुँदा यस्ता अवैध ठानिएका सुन पनि खरिद गर्न पुगेकाहरुले लुकिछिपी खरिद गर्ने भएकाले पनि उनीहरु ठगिएको धेरै घटनामा पाइएको छ ।
यस्ता घटनामा ठगी गर्ने गिरोहले एकान्त, सुनसान वातावरणको फाइदा उठाउँदै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामा बताउँछन् ।
प्रहरीले नक्कली सुन दिएर ठगी गर्ने विभिन्न सातओटा गिरोहलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
गत साउनयता पक्राउ परेकाहरुबाट ८ किलो नक्कली सुनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्