Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


शिक्षा ऐन नवौं संशोधन कार्यान्वयन गर्न नदिइने चेतावनी


0
Shares

नौ विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौं बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बैठकले विधेयकलाई प्रमाणित नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, शिक्षा ऐन नवौं संशोधन र र प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट कलेजलाई बदनियत रुपमा सम्बन्धन दिने काम गरेको जनाउँदै उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरिएको छ ।

यसैगरी, बैठकले एमबिबिएसमा भर्ना हुने विद्यार्थीको शुल्क सरकारले तोकेअनुसार कार्यान्वयन गराउन माग गर्दै त्रिविमा आन्दोलनरत आंशिक प्राध्यापकको माग सम्बोधनबारे ध्यानाकर्षण गराएको छ । उनीहरुले अनशनबाट नभई योग्य प्राध्यापकलाई प्रतिस्पर्धाका माध्यमबाट भर्ना गर्न आग्रह गरेका छन् ।

बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अनेरास्ववियु (छैटौँ)का विमल पोखरेल, नयाँ शक्ति विद्यार्थी युनियनका श्यामबाबु गौतम, लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष पारसनाथ चौधरीलगायतको सहभागिता थियो । रासस